काठमाडौँ । रोपाइँ सकेको खुसीयालीमा भोजस्वरुप दही र चिउरा खाने दिन । सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको हो ।
तर असार १५ मै किन खाइन्छ दही चिउरा रु प्रायःको एउटै उत्तर हुने गर्छ, पहिलेदेखि खाँदै आएको त्यसैले । आखिरमा किन असार १५ को सांस्कृतिक महत्व छ त रु संस्कृतिकर्मीका आधारमा असारमा समयमै रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाइन्छ । परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आयो । तर समयक्रमले यसलाई असार १५ मा पुर्याएको संस्कृतिकर्मीको तर्क छ ।
उनीहरुका अनुसार रोपाइँ नसकिएसम्म दहीचिउरा खाइँदैन तर अहिले रोपाइँ सकियोस् या नसकियोस् प्रत्येक वर्षको असार १५ मा दहीचिउरा खाने गरिन्छ । हुन त अहिले दहीचिउरा खान असार १५ सम्म पर्खन पर्दैन । अहिले बजारमा दहीचिउरा १२ महिना उपलब्ध छन् ।
परापूर्वकालमा समयमै रोपाइँ सकिएको खुसीयालीमा भोजस्वरुप दहीचिउरा खाने चलन रहेको संस्कृतिकर्मी बताउँछन् । माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर सुरु गरिएको रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाने गरिएको हो ।
रोपाइँमा सबैलाई भ्याइनभ्याइ हुने भएकाले पकाइरहन पनि नपर्ने र तयार गर्न धेरै समय पनि नलाग्ने भएकाले दहीचिउरा खाने प्रचलनले महत्व पाएको बताए । ‘असारमा कामको व्यस्तताले अरु खानेकुरा जोहो गर्ने समय हुँदैन’ ‘पकाइवरी गर्न नपर्ने र सरल रुपमा सबैका घरघरमा उपलब्ध हुने भएकाले असार १५ मा दही चिउरा खाने थिति नै बसेको हो ।’
मानो खाएर मुरी उब्जाउने सिजन
हाम्रो मुलुक कृषिमा आधारित छ । धेरैजसोको जीवन खेतीकिसानीमा बित्ने गर्छ । धेरैजसोले पशुपालन गर्छन्, अन्नवाली लगाउँछन् । अतः असार–साउन अर्थात वर्षायाम भनेको खेतीबाली लागाउने मध्य सिजन । यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ । अन्नवाली लगाउनका लागि यो नै अनुकुल सिजन हो ।
खेतीपातीमा खटिने किसानहरुलाई यतिबेला भ्याइनभ्याई हुन्छ । किसानहरु दिनभर माटोमा खेल्छन्, हिलोमा खेल्छन्, मलखाँद तयार गर्छन्, अन्नबाली लगाउँछन् । बिहानदेखि साँझसम्म उनीहरु काममा खटिन्छन् । त्यसैले त असारलाई ‘मानो खाएर मुरी उब्जाउने सिजन’ भनिन्छ । अर्थात यो आयआर्जनको स्रोत बढाउने मेलो पनि हो । थोरै खाएर धेरै काम गर्ने बेला हो । वास्तवमा भन्ने हो भने किसानहरुलाई फुर्सदले खाने समय पनि हुँदैन यतिबेला ।
छिटो–मिठो परिकार
कामको चटारो हुने भएकाले यतिबेला किसानहरुका लागि छिटोमिठो खाजा हो, दही–चिउरा । दही–चिउरा तयारी परिकार हुन् । यसलाई पकाइरहनु पर्दैन । दही चिउरा बनाउन समय लाग्दैन । त्यसैले काममो हतारोबीच दही चिउरा उपयुक्त हुन्छ, नास्ताको लागि । दही चिउरा मिठो पनि हुन्छ । सर्बप्रिय परिकार हो यो ।
स्वस्थ्यवद्र्धक
वर्षायाममा दही चिउरा सेवन गर्नुको सम्बन्ध स्वास्थ्यसँग पनि छ । वर्षायाममा खानेकुराको माध्यामबाट संक्रमण सर्ने भय हुन्छ । यतिबेला झिंगा, लामखुट्टे, साङ्ला आदिले खानेकुरा दुषित बनाउन सक्छ । यसैगरी गर्मीले गर्दा चाडै सड्ने, गल्ने हुन्छ । त्यसैले पकाएको वा पकाएर राखेको खानेकुराले पेटमा संक्रमण हुने, अपच हुने संभावना रहन्छ ।
दही–चिउरामा त्यस्तो संक्रमणको भय हुँदैन । यसलाई पकाउन नपर्ने भएकाले छिटो हुन्छ, बनाउन सजिलो र छरितो हुन्छ । स्वस्थ्यवद्र्धक पनि हुन्छ ।
सीतल र सुपाच्य खानेकुरा
दही पाचन यन्त्रका लागि निकै उपयोगी पेय मानिन्छ । दहीमा भएका व्याक्टेरियाले पाचन पक्रियामा सघाउ पु¥याउँछ । त्यसैगरी गर्मीमा यो पेयले शरीरलाई सितलता प्रदान गर्छ ।
त्यसो त दहीमा कार्बोहाइड्रेट, भिटामिन बि, सि हुन्छ, यसले शरीरलाई फुर्तिलो बनाइराख्न सहयोग गर्छ । एक हिसाबले भन्ने हो भने दही स्वादिलो पेय मात्र नभएर औषधी पनि हो ।
चिउरा स्वास्थ्यवद्र्धक खानेकुरा हो । यो सड्ने, गल्ने, बासी नहुने भएकाले कुनैपनि किसिमको संक्रमण हुँदैन । चिउरा र दहीको समिश्रण स्वादिलो हुन्छ साथसाथै सुपाच्य पनि ।
कर्मकाण्ड मात्रै ?
दही चिउरा खेतीबालीमा मात्र खाने परिकार होइन । साथसाथै असार पन्ध्रमा मात्र खाने परिकार पनि होइन । दही चिउरा वर्षायामको खाजा हो ।
वर्षायाममा अरु खानेकुरा सड्ने, गल्ने, बासी हुने भएकाले दही–चिउरा उपयोगी मानिन्छ । छिटो, छरितो, मिठो र सुपाच्य खानेकुुरा भएकाले दही चिउरा यतिबेला हाम्रो शरीरका लागि उपयोगी हुन्छ । त्यसैले असार पन्ध्रमा मात्र दही–चिउरा खानु, तामझाम गर्नुको अर्थ छैन । बरु, दही चिउरालाई वर्षायामको नियमित नास्ता बनाएमा त्यसले स्वास्थ्य लाभ मिल्नेछ । आफ्ना बालबच्चालाई जंकफूड होइन, दही चिउरामा बानी पारौं ।