काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वमाओवादीहरुलाई एकताका लागि अपील गरेका छन्।
विप्लव नेतृत्वको नेकपाबाट आएका नेतालाई बुधबार पार्टी प्रवेश गराउँदै प्रचण्डले पूर्वमाओवादीहरुलाई एकताका लागि अपील गरेका हुन्।
उनले गम्भीर आत्मसमीक्षा गरेर आआफ्नो कमजोरी स्वीकार्दै पूर्वमाओवादीहरु एक ठाउँमा हुनुपर्ने बताए। जनता र कार्यकर्ताले पूर्वमाओवादीलाई एक हुन दिइरहेको दवाव आ थेग्न नसकिने बताए।
उनले भने, ‘गम्भीर आत्मसमीक्षा गरौं। आआफ्नो कमजोरी स्वीकारौं। सबैमा माओवादी एक ठाउँमा हुनुपर्छ। अब जनता र कार्यकर्ताको दवाव थेग्न सक्दैनौं। आग्रह पूर्वाग्रह त्यागौं।’
प्रचण्डले माओवादी जनयुद्धमा भाग लिएकाहरू आफ्नो नेतृत्वमा एकताबद्ध हुनुको विकल्प नरहेको भन्दै फेरि प्रचण्डकहाँ जानुपर्ने भयो भनेर लाज नमान्न आग्रह गरे। उनले साना–साना पसल थापेर लडाइँ जित्न नसकिने भन्दै जनता र कार्यकर्ताले पनि माओवादीहरूलाई प्रचण्डको नेतृत्वको एकताबद्ध हुन निर्देशित गरेको बताए।
उनले तत्कालीन नेकपामा रहँदा विउ रोपेर आएको र त्यो केही समयपछि फल्ने र फुल्ने दाबी गरे।
एक साता अगाडि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट सामूहिक राजीनामा दिएका पोलिटव्युरो सदस्य एवम् सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित शंकरबहादुर खड्का, दलबहादुर धामी र रमेश परियारलगातका नेतालाई प्रचण्डले पार्टी प्रवेश गराए।
उक्त कार्यक्रममा विप्लव नेकपाबाट ३ केन्द्रीय सदस्यसहित ५२ नेता कार्यकर्ता माओवादी प्रवेश गरेका छन्।