काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फर्छ्यौटलाई अभियानका रुपमा अघि बढाइनुपर्ने बताएकी छन्।
महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले अभियानका रुपमा बेरुजु फर्छ्यौट गरेपछि बेरुजु राख्न नदिने गरी आर्थिक अनुशासन पालना गरिनुपर्ने बताइन्।
आर्थिक शुद्धताले नै सुशासन कायम गर्न सहयोग गर्ने भएकाले यसमा सरोकार भएका सबै निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीले बताइन्। उनले भनिन्, ‘महालेखापरीक्षकको प्रतिवेदनमार्फत् उठेका विषयलाई केन्द्रीय संसद्, प्रदेशसभा, र स्थानीयसभाले गम्भीर रुपमा लिएर दोहोर्याउन दिनुहुँदैन, सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शीता हुनुपर्छ, सार्वजनिक वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रतिवेदनले काम गरेको छ।’
अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फछ्यौटलाई सरकारले प्रयास गरिरहेको उल्लेख गर्दै वित्तीय व्यवस्था सुधारमा सरकार लागिपरेको बताए। रु छ खर्ब ७६ अर्ब बेरुजु फछ्र्यौटमा मन्त्रालय लागेको उनले जानकारी गराए।
महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले यस वर्षदेखि विद्युतीय प्रणालीबाट गरिएको लेखापरीक्षणको प्रतिवेदन आउने क्रममा रहेको जानकारी गदिए।