काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) पार्टीका संयोजक वामदेव गौतम र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
भेटका लागि गौतम ओली निवास बालकोट पुगेका थिए। सबै कम्युनिस्ट नेतासँग भेटघाट गर्ने कार्यक्रमअनुसार गौतम ओली निवास बालकोट पुगेका हुन्।
भेटमा वाम एकीकरण तथा एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्नेबारे छलफल भएको बताइएको छ।
‘आफू–आफू चुनाव लड्ने हो भने कम्युनिष्टहरुको हार निश्चित छ, त्यसैले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मिलेर चुनाव लडौं,’ भेटमा ओलीसँग गौतमले प्रस्ताव राखेका थिए।
गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत निर्वाचनमा वाम गठबन्धन गरेर जान तयार रहेको अध्यक्ष ओलीलाई सुनाएका थिए।
तर, ओलीले वाम एकताका लागि प्रचण्ड र माधव नेपाल सुध्रेर आउनुपर्ने बताए।
वाम एकताका लागि गृहकार्यका लागि गौतमले आगामी ३ महिना विभिन्न कम्युनिष्ट नेतासँग भेटघाट र वार्ता गर्नेछन्।
नेकपा विभाजनपछि कतै नलागेका गौतमले मंगलबार मात्रै नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका थिए।