काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) फेरि फुट्ने भएको छ।
संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच बुधबार राति सहमतिमै जसपा फुटाउने सहमति भएको बताइएको छ। सहमतिमा पार्टी फुटाउँदा एक अर्कालाई होच्याउने र कमजोरी बाहिर ल्याएर आफू ठिक थिए भन्ने अभ्यास नहुने उनीहरुको दाबी छ। साथै, दुवैले एक अर्काप्रति सम्मान र सदभाव राख्ने, निर्वाचनमा एक अर्कालाई सहयोग गर्ने सहमति भएको बताइएको छ।
सहमतिमा अलग हुँदा केन्द्रीय सदस्य र सांसदहरुलाई कता जाने हो रोज्न दिने भनिएको छ। जुनसुकै पक्षमा लाग्ने सांसद वा सदस्यलाई कारवाही गरिनेछैन।
उपेन्द्र समूहका नेता तथा सांसद् मृगेन्द्रकुमार सिंह यादवले आफूहरूसँग २० केन्द्रीय कार्यकारिणी सदस्य र १६ सांसद् रहेको दाबी गरे। अहिले जसपामा ३३ सदस्यीय कार्यकारिणी सदस्य र राष्ट्रियसभाबाहेक २१ सांसद् छन्।
हालको अवस्था हेर्दा जसपामा यादव पक्षको बहुमत छ। त्यसकारण भट्टराईले नयाँ पार्टी बनाउनुपर्नेछ।
बाबुरामको पक्षमा कृषिमन्त्री महिन्द्रराय, राजकिशोर यादव, अमृता अग्रहरीलगायत रहेको बताइएको छ।
यसैबीच, जसपाले आगामी असार २७ र २८ गते पर्साको वीरगञ्जमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको छ।