काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानले असंलग्नतालाई आफ्नो परराष्ट्र नीतिको अभिन्न अङ्गका रूपमा समेटेको उल्लेख गर्दै ‘असंलग्न आन्दोलन’ का सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
अजरबैजानको राजधानी बाकुमा आजदेखि शुरु भएको असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनलाई सम्बोधन गर्दै उनले असंलग्न आन्दोलनका मूल्य, मान्यता र सिद्धान्तलाई बलियो बनाउन ‘असंलग्न आन्दोलन संसदीय सञ्जाल’ कोसेढुङ्गा सावित भएको तथा त्यसले आन्दोलनभित्रको सहयोगको बहुआयामिक प्रकृतिलाई सार्थकता दिएको बताए ।
‘असंलग्न आन्दोलन’ विश्वभरका देशहरूमा स्वतन्त्रता, स्वावलम्बन, लोकतन्त्र र न्याय सुनिश्चित गर्न सफल भएको बताउँदै उनले सामूहिक प्रयासबाट द्वन्द्व र चुनौती घटाउन सकिएको उल्लेख गरे । सञ्जालले उदीयमान विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्दै असंलग्न मान्यतालाई सघनरूपमा विस्तार गर्न संसद्हरूलाई सक्षम बनाउने विश्वास पनि सभामुखले व्यक्त गरे ।