धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षकै सदस्यको असहमतिपछि प्रदेशसभामा अझै छलफल सुरु हुन सकेको छैन ।
प्रदेश सरकारले यही असार १ गतेको प्रदेशसभा बैठकमा आगामी आव २०७९/०८० को नीति कार्यक्रम कार्यान्वयनका लागि लागि रु ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)प्रस्तुत गरेको थियो ।
प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले बजेट कार्यक्रमका सवालमा देखिएको असन्तुष्टिका बारेमा सरकारसँग बसेर छलफल नगरेसम्म यथास्थितिमै छलफल अघि बढ्न नसकिने सदस्यको भनाइ रहेकाले छलफल सुरु हुन नसकिरहेको बताए ।
आजका लागि बोलाइएको बैठकसमेत सूचना टाँस गरी स्थगित गरिएको छ । कार्यव्यवस्था परामर्श समितिको आज बसेको बैठकमा यथास्थितिमै बजेटका विषयमा छलफल अघि बढ्न नसक्ने ठहर गरेको जनाइएको छ ।
यसअघि असार ८ गते र १२ गते बोलाइएको बैठक पनि स्थगन भएको थियो । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले वित्तीय अनुशसान उल्लङ्घन गरेर ल्याइएको बजेट परिस्कृत नगरिएसम्म यथास्थितिमै पारित हुन सक्दैन भन्ने निचोडमा सत्तापक्ष र प्रतिपक्षका सदस्य पुगेकाले बैठक सञ्चालन हुन नसकेको बताए ।
“बजेट कार्यक्रम विशाक्त छ, सांसद, पालिका तह र सम्बन्धित विषयगत कार्यालयले दिएका योजना नभई बिचौलियाले दिएका योजना समेटिएको छ”, कार्यव्यवस्था परामर्श समितिका सदस्यसमेत रहेका खड्काले भने ।
सामाजिक विकासमन्त्रीलाई समेत जानकारी नदिई उक्त मन्त्रालय शीर्षकमा एउटै नगर क्षेत्रका मठमन्दिरका नाममा ठूलो बजेट रकम विनियोजन गरिएको गुनासोसमेत प्रदेशसभा सदस्यहरुको छ ।