काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताएका छन्।
सत्ता गठबन्धनका शीर्ष नेतासहित शनिबार प्रस्तावित निजगढ विमानस्थल क्षेत्रको निरीक्षणका लागि बारा पुगेका प्रधानमन्त्री देउवाले अहिले प्रस्तावित भएको ठाउँमै कम क्षतिमा विमानस्थल बनाइने बताएका हुन्।
प्रधानमन्त्री देउवाले दुई वटा रनवेसहितको विमानस्थल निर्माणका लागि विज्ञसँग छलफल भइरहेको जानकारी दिए। उनले सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको एकदमै खाँचो रहेको बताए।
उनले भने, ‘दुइटा रनवेसहित विमानस्थल बनाउँछौं। त्यसका लागि विज्ञसँग छलफल गरिरहेका छौं। कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौं।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवाको भनाइमा सहमति जनाए।
प्रचण्डले सर्वोच्च अदालतबाट विमानस्थल निर्माणमा कुनै रोकावट गर्ने आदेश नआएकोले राष्ट्रिय गौरवको एउटा ड्रिम प्रोजेक्टको रुपमा विमानस्थल बन्ने बताए।
उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि अबरौं लगानी भइसकेको पनि बताए। उनले भने, ‘यो राष्ट्रिय गौरवको गेमचेन्जर आयोजना भएको हो।’
त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि निजगढमा विमानस्थल बनाउनुपर्नेमा जोड दिए । उनले विमानस्थल बनाउन अदालतबाट पनि बाटो खुलेकोले प्राकृतिक स्रोत साधनको कम क्षतिसहित विमानस्थल बनाउनुपर्ने बताए।
यस्तै उनले फैसलाले विमानस्थल बनाउन विज्ञको टोलीबाट अध्ययन गराउन पनि भनेको बताए। यसरी अध्ययन गराएर वातावरणमा कम भन्दा कम क्षति पुर्याउन भनिएको उनले स्पष्ट पारे।
त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पुराना बस्तीलाई जोगाएर निजगढ विमानस्थल बनाउनुपर्ने बताए।