खोटाङ। रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित डाँँडागाउँमा पहिरो झर्दा एक घर बगाउनाका साथै ११ घर उच्च जोखिममा परेका छन्।
केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएरातिदेखि खस्न सुरु भएको पहिरोले स्थानीयवासी बलराम खत्रीको घर बगाएको हो। उनको घरमा कोही पनि मानिस नरहेका कारण मानवीय क्षति भने हुन पाएन। रातिदेखि निरन्तर झरिरहेको करिब ५०० मिटर लामो पहिरोले भैरवबहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको स्थानीयवासीले बताए।
कालो माटो रहेको उक्त क्षेत्रमा अझै निरन्तर झरिरहेको पहिरोले ११ घर उच्च जोखिममा पारेको वडाध्यक्ष चिरञ्जीवी कार्कीले जानकारी दिए। उनले भने, ‘पहिरो अझै रोकिएको छैन, हामी पहिरो नजिकै छौँ, यो गाउँका सबै घर उच्च जोखिममा छन्। जोखिममा परेकालाई अन्यन्त्र सार्ने तयारी भइरहेको छ।’
पहिराले गर्दा स्थानीय भैरवबहादुर, हरि राई, पर्शुराम राई, चित्रबहादुर खत्री, शुक्रराज राई, उद्योगबहादुर भुजेल, धनबहादुर राई, पथरबहादुर राई, वर्णबहादुर राई, केसन राई र प्रदीप राई पीडित भएका छन्। चित्रबहादुर र शुक्रराजको घरभन्दा मुनिबाट सुरु भएको पहिराले लाखौँको अन्नबालीसमेत क्षति गरेको वडाध्यक्ष कार्कीले बताए।