रौतहट। रौतहटको पर्यटकीय क्षेत्र नुनथर आएका दुई भारतीय पर्यटक नदीमा डुबेर बेपत्ता भएका छन्। उनीहरुसँगै नदीमा फसेका एक जनाको भने उद्धार गरिएको छ।
चन्द्रपुर नगरपालिका– १ बागमती नदी किनारमा अवस्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका भारतको सितामाढी कोटबजार बस्ने वर्ष २७ को सुमन साह, वर्ष ३० का मयक अग्रवाल र सोही उमेर समूहका गोलुकुमार शनिबार साँझ नदीमा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ।
नदीमा डुबेका पर्यटक सुमनलाई स्थानीयबासीले तत्कालै उद्धार गरेका थिए। अन्य दुई पर्यटक अझैसम्म बेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक सन्तु जैसवारले जानकारी दिए।
भारतीय नम्बर प्लेट बीआर ०१ एचएफ ६६१९ नम्बरको कारमा घुम्न आएका ती पर्यटकलाई नदीमा पानीको बहाव र गहिराइको बारेमा जानकारी नहुँदा डुबेको उद्धार गरिएका पर्यटक सुमनले बताए। उनको अवस्था सामान्य रहेको छ।
यता घटनापछि इलाका प्रहरी चन्द्रनिगाहपुरको प्रहरीटोली खोजी कार्यमा जुटेको छ। अहिलेसम्म पनि बेपत्ता पर्यटक पत्ता लाग्न सकेको छैन।
नुनथर पर्यटक संरक्षण समितिले आन्तरिक एवम् वाह्य पर्यटकसँग पर्यटकीय शुल्क लिने गरेको छ। तर समितिले खटाएको कर्मचारीको लापरवाहीले पनि नदी सम्बन्धि जानकारी नभएका पर्यटक नदीमा डुब्ने गरेको स्थानीयको आरोप छ।