काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। प्रज्ञा भवन कमलादीमा आइतबार बिहान १२ बजेपछि बैठक सुरु भएको हो।
अध्यक्ष प्रचण्डले बैठकका कार्यसूचीबारे जानकारी गराएका छन्। अध्यक्ष प्रचण्डले नयाँ सदस्यहरुको सपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी ८ एजेण्डा प्रस्तुत गरेका छन्।
महाधिवेशन सम्पन्न भएपछि पटक–पटक माओवादीको केन्द्रीय समितिको बैठक सर्दै आएको थियो। गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्।
गत महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ। त्यस्तै केन्द्रीय सदस्यको सङ्ख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ।
साथै थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ। मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ।