काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सहमति आफू प्रधानमन्त्री भएका बेला नगरेको बताएका छन्।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एसपीपी सहमति आफू प्रधानमन्त्री भएका बेला नगरेको बताएका हुन्।
उनले एसपीपी सहमति आफू प्रधानमन्त्री भएका बेला गरेको कुनै प्रमाण भए पेश गर्नसत्ता गठबन्धनका नेताहरुलाई चुनौती दिए।
यसअघि आफू प्रधानमन्त्री भएका बेला त्यो सहमति भएको भन्ने आरोप सत्तापक्ष दलका नेताहरुले निरन्तर लगाएपछि ओलीले आफूले सो विषय बोल्नुपरेको बताए।
उनले भने, ‘कुन कुन प्रधानमन्त्री, को को रक्षामन्त्रीले निर्णय गरेका हुन्? सत्यतथ्य कुरा बाहिर ल्याउन म प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्दछु। यस विषयको सत्यतथ्य कुरा सदनलाई जानकारी गराउनुपर्छ, प्रधानमन्त्रीज्यूले त्यो काम गर्नुहोला।’
ओलीले बजेट तयारी प्रक्रिया नै मूल्यमान्यता विपरीत रहेको दावी गरे। अर्थविद, विज्ञ, प्रतिपक्षीदल र नागरिकले बजेटबारे आलोचना गरिरहँदा पनि सरकारले जिम्मेवारीपूर्वक नलिएको उनले टिप्पणी गरे। बजेटको विषय ज्यादै गम्भीर विषय भए पनि सरकारले हेलचेक्र्याइँ गरिरहेको उनले आरोप लगाए।
सम्बन्धित समाचारः
विशेष सम्बोधन गर्दै ओलीले भने– अब त अति नै भयो
बजेटबारेको सीसीटीभीको फुटेज माग गर्दासमेत सरकारले उपलब्ध गराउन नसक्नु विडम्बना भएको उनले बताए। उनले भने, ‘जेठ १४ गते रातिको सीसीटीभी किन गायब गरियो? किन उपलब्ध गराउन सकिएको छैन? आर्थिक अनुशासनहीनताको यो लज्जाजनक अवस्था हो। छानबिन समिति बनाएर यसबारे छानबिन गरिनुपर्छ। निष्पक्ष समिति बनाएर छानबिन गरेर प्रतिवेदन सदनमा पेश गरिनुपर्छ।’
प्रधानमन्त्री देउवा गठबन्धन दलको अगाडि लाचार भएको ओलीले आरोप लगाए। उनले भने, ‘गठबन्धन जोगाउन जे पनि गर्न पाइँदैन। बिचौलिया मान्छे राखेर देशको बजेट बनाउने विषय तमासा नभएर के हो त यो?