काठमाडौँ । नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका लागि सरकारलाई १० बुँदे विकल्प दिएको छ । सोमवार प्रधानमन्त्री तथा उद्योगमन्त्रीलाई पत्र लेख्दै निगमले इन्धन खपत घटाउने बुँदासहित सुझाव दिएको हो ।
निगमले इन्धन खपत कम गर्न नसके घाटाको अवस्था चुलिँदै जाँदा इन्धनको आपूर्ति नै रोकिन सक्ने जनाएको छ । निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारीसाधन बाहेक सरकारी तथा निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न सरकारलाई भनेको छ ।
यस्तै शनिवार गाडीरहितको सार्वजनिक बिदा घोषणा गर्न पनि सरकारलाई सुझाव दिइएको छ । यसले देशभरका मुख्य शहरमा यस्तो व्यवस्था गर्दा इन्धन खपत कम हुने जनाएको छ ।
पेट्रोल पम्पहरूले मोटरसाइकललाई ५ लिटर र कार जीप तथा साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन बिक्री गर्ने व्यवस्था गर्न पनि सरकारलाई सुझाएको छ ।
यस्तै छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने विकल्प पनि निगमले सरकारलाई दिएको छ ।यस्तै ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरू पूर्ण क्षमतामा चलाउने, मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरुप नै यात्रु रहनेगरी सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत सरकारलाई निगमले प्रस्ताव गरेको छ ।
यस्तै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायत अन्य उपकरणको आयात बन्द गर्न समेत सरकारलाई निगमले प्रस्ताव गरेको छ । ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्नुपर्ने निगमको भनाइ छ ।