डोटी । बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ४५ करोड एक लाख २४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको ११औँ गाउँसभा तथा अधिवेशनमा आज चालु आवका लागि बजेट प्रस्तुत गरिएको हो।
अन्तर सरकारी सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधानअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । जिल्लाका अन्य पालिकाले निर्धारित समयमै बजेट सार्वजनिक गरे पनि बोगटान फुड्सिल गाउँपालिकाले केही ढिलो गरी बजेट सार्वजनिक गरेको हो ।
नीति तथा कार्यक्रममा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । कृषिमा आत्मनिर्भर बन्न कृषिकलाई अनुदान दिने, कृषकका साथमा कृषि प्राविधिक अभियानको सुरुआत गरिने, सिँचाइको प्रवद्र्धन गर्ने, उत्पादित वस्तुको बजारीकरण र भण्डारीकरणमा सहयोग गर्ने, गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा जोड दिने, एक घर एक करेसाबारी कार्यक्रमको सुरुआत गर्ने गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।
साथै गरिब विपन्न परिवारका विद्यार्थीलाई छनोटमार्फत निःशुल्क उच्च शिक्षा अध्ययनको कार्यक्रमलाई निरन्तरता दिने, खेलमैदान निर्माण भएका वडामा खेलमैदानको स्तरवृद्धि र निर्माण हुन बाँकी वडामा खेलमैदानको निर्माण गरिने, पालिकाभरिका तीन विद्यालयलाई तीनतारे विद्यालय घोषण गरिने, गाउँपालिकामा एकजना एमबिबिएस डक्टरको व्यवस्थालाई निरन्तरता दिने, स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयन गर्ने, एक घर एक खानेपानी धाराको नीति अवलम्बन गर्ने लगायतका कार्यक्रममा गाउँपालिकाले नीति तथा कार्यक्रममा राखिएको छ ।