काठमाडौं। नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष रहेको पवन कार्की पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समर्थनमा संगठनविरोधी गतिविधि गरेको पाइएको छ।
अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष कार्कीले केही दिनअघि १९९ सदस्यीय समानान्तर समिति घोषणा गरेका थिए। त्यसमा पार्टी उपाध्यक्ष श्रेष्ठको समर्थन रहेको अनेरास्ववियू क्रान्तिकारीका एक नेताले बताए।
उनका अनुसार नयाँ घोषणा गरिएको समितिमा अधिकांश श्रेष्ठ समूहका विद्यार्थी सहभागी छन्। त्यसमा पनि पूर्व एकता समूह र जनमोर्चाका विद्यार्थी बढी छन्। उनले गठन गरेको समितिमा इकाइ कमिटीमा समेत नभएका तथा भर्खरै इकाइ कमिटीमा आएकाहरु समेत राखिएका छन्।
असन्तुष्टि
कार्कीले अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा दाबी गरेका थिए। तर, महासचिव दिपेश पुन बन्दा उनी उपाध्यक्ष बने, त्यतिबेला देखि नै उनी असन्तुष्ट बने।
विधान सम्मेलन हुँदा १९९ सदस्यीय केन्द्रीय समिति र २५ पदाधिकारी राख्ने निर्णय भएको थियो। तर, कार्कीको विरोधपछि बढाएर ३२ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति गठन गरिएको थियो।
उक्त समितिमा आफू निकटमा धेरै विद्यार्थी राख्न कार्कीले धेरै वार्गेनिङ र लबिङ गरेका थिए। तर, आफूले चाहेजति विद्यार्थी समितिमा राख्न असफल भएदेखि नै उनले संगठन विरोधी गतिविधि सुरु गरेका थिए।
कार्कीले संगठन र पार्टीमा दवाव बढाउन तथा संगठन असफल बनाउन यस्तो कदम चालेको दाबी स्रोतको छ।
‘उपाध्यक्ष श्रेष्ठले पार्टीबाट नसकेपछि विद्यार्थी संगठनबाट पार्टीमा र अध्यक्ष प्रचण्डमाथि दबाब बढाउन उपाध्यक्ष रहेका कार्कीको साथ लिएको देखिन्छ’, अनेरास्ववियू क्रान्तिकारी निकट स्रोत भन्छ, ‘कार्कीले अध्यक्ष पञ्चा सिंहमाथि दवाव बढाउन र संगठन असफल बनाउन चाहेको देखिन्छ। यो श्रेष्ठ र कार्कीले पार्टी र संगठनमा गरेको एक किसिमको बार्गेनिङ मात्रै हो।’
असार ६ गते भएको अनेरास्ववियू क्रान्तिकारीको बैठकमा हात हालाहाल भएपछि उपाध्यक्ष कार्कीसहित ९ जनालाई निलम्बन गरिएको थियो।