काठमाडौं। न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटकी २७ वर्षकी शोभा पौडेल छन्।
नुवाकोटको विदुर नगरपालिका–७ घर भई बुढानीलकण्ठ नगरपालिका–३ घुम्तीमा बस्ने पौडेल सिन्धुलीको दुधौली नगरपालिका–१ का नारायण बोगटीसहित ९ जनाबाट ६३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकी थिइन्।
न्युजिल्याण्ड जान १२ लाख ५० हजार रुपैयाँ लाग्ने, त्यहाँ कृषि कम्पनीमा फलफूल टिप्ने काम लगाइदिने र मासिक तलब एक लाख ७० हजार रुपैयाँसम्म हुने भन्दै उनले ६३ लाख रुपैयाँ रकम लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले पौडेललाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेको थियो। त्यसपछि प्रहरीले पौडेललाई कपनबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।