काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेकोमा धन्यवाद दिएको छ।
तर, एमालेले शर्मामाथि अर्थमन्त्रीको हैसियतले बोल्ने नैतिक अधिकार नहरेको जनाएको छ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बोल्ने पालो दिएपछि एमालेका सांसदले उठेर विरोध जनाए। त्यसपछि बोलेका एमाले सांसद योगेश भट्टराईले भने, ‘अर्थमन्त्रीको हैसियलते उहाँ (अर्थमन्त्री) लाई बोल्ने नैतिक अधिकारी छैन।’
सम्बन्धित समाचारः
अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन
भट्टराईले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने नत बर्खास्त गर्नुपर्ने माग गरे। उनले भने, ‘छानबिन समिति गठनपछि अर्थमन्त्री स्वतः दोषी हुनुहुन्छ। समितिले के कारवाही गर्ने भनेर सिफारिस गर्ने हो। उहाँ कारवाहीको भागीदार हुनुहुन्छ। राजीनामा दिनुस् । राजीनामा दिएमात्रै भाषण सुन्छौं। पदमा बसेर छानबिन हुँदैन।’
अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको आरोप लागेको छ।
साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शर्माको राजीनामा दिनुपर्ने माग गरेको छ।