काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन्।
उनीमाथि आज छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो। उनले एउटा मात्रै नभएर हजारौं छानविन गर्न माग गरे।
उनले यसअघि संसदीय छानबिन समिति बन्दा समेत मन्त्रीहरु पदमा बसेको नजिर रहेको बताए। तर, समितिको सम्मानका लागि आफुले राजीनामा दिएको र छानबिन समितिलाई सहयोग गर्ने बताए।
‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु,’ संसदको रोष्टमबाट शर्माले भने, ‘यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु।’
रोस्ट्रमबाट राजीनामा गरेर फ्लोरमा पुगेका उनले पार्टी अध्यक्ष प्रचण्डसँग कानेखुसी गरे। उनीहरुबीच थोरै समय कुराकानी भएको प्रतिनिधि सभाको प्रत्यक्ष प्रशारणमा देखिएको थियो। त्यसपछि आफ्नो सिटमा नबसी उनी संसदबाट बाहिरिएका छन्।
सम्बन्धित समाचारः
अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन
संसदमा सम्बोधन गर्दै के भने ?
राजीनामा दिनुअघि बोल्दै शर्माले बजेट बनाउँदा कुनै गलत काम नगरेको दाबी गरेका छन्।
शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा एकजना पूर्वनायब सुब्बालाई जेठ १४ गते राति १२ बजे मन्त्रालयमा बोलाएर करका दरहरू हेरफेर गर्न लगाएको आरोप लागेको छ।
तर, उनले भने, ‘बजेट बनाउँदा गल्ती गरेको छैन। जेठ १४ गते राति साढे ११ बजे मन्त्रालयबाट गएको थिए। बिहान साढे ६ बजे मात्रै मन्त्रालय आएको हुँ।’
साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ। जेठ १४ गते रातिको सीसीटिभी डिलिट भएको सम्बन्धमा उनले सीसीटिभीबारे आफुलाई ज्ञान नरहेको भए।
छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएपछि एमालेले शर्मामाथि अर्थमन्त्रीको हैसियतले बोल्ने नैतिक अधिकार नहरेको भन्दै विरोध जनाएको थियो।
त्यसमा उनले एमालेलाई प्रश्न गर्दै भने, ‘म संसदमा बोल्न किन अयोग्य भए ?’
सम्बन्धित समाचारः
छानबिन समितिपछि एमालेले भन्यो– शर्मालाई अर्थमन्त्रीको रुपमा बोल्ने नैतिक अधिकार छैन