काठमाडौं। जनार्दन शर्माले राजीनामा दिएपछि माओवादी केन्द्रले पार्टीको तर्फबाट तत्काल अर्थमन्त्री नबनाउने भएको छ।
छानबिन समितिबाट निर्दोष सावित भए शर्मालाई नै फेरि अर्थमन्त्री बनाउने माओवादीको तयारी छ।
संसद बैठकपछि बाहिरिने क्रममा माओवादी केन्द्रका नेता वर्षमान पुनले मओवादीको तर्फबाट तत्काल कोही पनि अर्थमन्त्री नबन्ने बताए। उनले छानबिनबाट निर्दोष सावित भएपछि जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने पुनले बताए। अर्थमन्त्री शर्माले उच्च नैतिकता देखाएर राजीनामा दिएको बताए।
उनले भने, ‘पार्टीले उहाँलाई राजीनामा दिन सुझाव दिएको थियो, अनिवार्य भनेको थिएन। उहाँले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गर्नुभयो। छानबिन नसकिएसम्म पार्टीले अरूलाई अर्थमन्त्री बनाउँदैन।’
यसअघि पनि अर्थमन्त्रीबारे छानबिन गर्न समिति बने पनि तत्कालीन अर्थमन्त्रीहरूले राजीनामा नदिएको प्रसंग उठाउँदै पुनले यसपालि प्रमुख प्रतिपक्षीले बढी नै विरोध गरेको बताए।
उनले भने, ‘भरतमोहन अधिकारी र विष्णु पौडेल अर्थमन्त्री हुँदा पनि छानबिन समिति बनेका थिए तर उहाँहरूले राजीनामा दिनुभएन। रामशरण महतले भने छानबिन समिति बनेपछि राजीनामा दिनुभएको रैछ। निर्दोष प्रमाणित भएपछि उहाँ फेरि फर्किनुभयो।’
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका थिए।
त्यसपछि बैठकले उनीमाथि आज छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो।
शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा एकजना पूर्वनायब सुब्बालाई जेठ १४ गते राति १२ बजे मन्त्रालयमा बोलाएर करका दरहरू हेरफेर गर्न लगाएको आरोप लागेको छ।
साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ।