काठमाडौं । निर्वाचन आयोगले मंसिर २ गते शुक्रबार एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ।
बुधबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन एकै चरणमा गर्न सिफारिस गरेको हो।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज प्रमुख आयुक्तसहितको टोलीले प्रधानमन्त्रीज्यूलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न मिति सिफारिस गरेको छ’
जवाफमा प्रधानमन्त्री देउवाले आयोगले सिफारिस गरेको मितिकै सेरोफेरोमा चुनावको मिति घोषणा गर्ने बताए।
निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानूनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ। आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधि आगामी २०७९ मंसिर २२ गते पूरा हुने निश्कर्ष निकालेको छ।