पर्सा । सामाजिक विकृति दहेज प्रथा,लैङ्गिक विविधता र बाल विवाहलाई मूल मुद्दा बनाई निर्माण भएको भोजपुरी फिल्म जुल्मी दहेजको एक दिने च्य्यारिटी शो वीरगंजको त्रिमूर्ति सिनेमा हलमा प्रदर्शन हुने भएको छ ।
वीरगंजेली कलाकारहरूको अभिनय रहेको जुल्मी दहेज फिल्म यहीँ असार २५ गते च्यारिटी शो प्रदर्शन हुन लागेको उक्त फिल्म निर्माण कम्पनी बाबा बी फिल्मले जनाएको छ । वीरगंजको वीरगंज कलेज प्रा.लि.मा आयोजना भएको पत्रकार सम्मेलनमा फिल्म र प्रदर्शन बारे जानकारी गराइएको छ ।
च्यारिटी शोका लागि टिकेट शुल्क पनि निर्धारण गरिएको छ । दुई शो प्रदर्शनको मौका प्राप्त गरेको जुल्मी दहेजु हेर्नका लागि चार किसिमको टिकेट निर्धारण गरिएको छ । बिहान ८ बजेको विद्यार्थी शो का लागि कक्षा ९ देखि माथिका विद्यार्थीहरूका लागि १५० र २०० को टिकेट शुल्क तोकिएको छ । भने दिनको १२ बजेको शो का लागि २०० र ३०० मूल्य पर्ने टिकेट तोकिएको छ ।
नेपालको तराई भूभाग,पहाडी भूभाग एवं छिमेकी भारतको बिहारमा समेत छायाङ्कन गरिएको फिल्मका निर्देशक कृष्णा पण्डितले बताए ।
४ जनाको संयुक्त लगानी रहेको जुल्मी दहेजु निर्माण गर्न १८ लाख ८५ हजार लागत लागेको छ ।भुवन पण्डित ,ज्ञानेन्द्र सिंह,मुन्ना मुस्कान र सुरेन्द्र यादवको संयुक्त लगानी रहेको फिल्मका निर्देशक पण्डितले जानकारी दिनुभयो । फिल्म भोजपुरी भाषामा निर्माण गरिएको निर्देशक पण्डितले बताए । २ घण्टा १० मिनेट लामो फिल्ममा ७ वटा गीत समावेश गरिएको पनि निर्माण कम्पनीले जनाएको छ ।
कृष्ण हमराहिले लेखेकोे फिल्ममा मुन्ना मुस्कानले सङ्गीत दिनु भएको छ । फिल्मको मुख्य भूमिकामा मुन्ना मुस्कान,श्रुति सहनी,स्नेहा चौधरी,मुखलाल साह,ज्ञानेन्द्र सिंह,भागिरत साह,संगिता तिवारी,सुरेन्द्र यादव,नेहा यादव,सन्तोष कुमार, नितेश निर्मल लगायतका वीरगंजेली कलाकारहरूलाई देख्न पाइन्छ ।
उक्त च्यारिटी शो बाट प्राप्त भएको रकमको केही अंश सामाजिक कार्यमा समेत लगानी गर्ने निर्माण पक्षले उद्घोष गरेको छ । यो भन्दा पहिला बाबा बी फिल्मले माई हई ममताके दरिया,सपना द ड्रीम्स लगायतको छोटो फिल्म एवं दर्जनौँ म्युजिक भिडियो निर्माण गरिसकेको छ ।