काठमाडौँ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १० अर्ब बजेट मागेको छ । आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति तोक्न परामर्श दिँदै निर्वाचनका लागि करिब १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान पेस गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालको बजार मूल्यअनुसार चुनाव सम्पन्न गराउन करिब १० अर्ब खर्च लाग्ने अनुमान पेस गरिएको जानकारी दिए । यसअघि ०७४ को प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्न ७ अर्ब ८० करोड खर्च भएको थियो ।
आयोगले हाल तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा वृद्धि भएका कारण खर्च बढ्ने जनाएको छ । आयोगका पदाधिकारीले बुधबार बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेटेका थिए । आयोगले मंसिर २ गते संघ र प्रदेशको निर्वाचन गर्न परामर्श दिएको छ ।