बाजुरा । बुढीगंगा नगरपालिकामा मतदान जारी छ। नगरपालिकामा १० वटा बुथका १९ वटा मतदान केन्द्रबाट मतदान भइरहेको छ।
मतदानका लागि नगरको सुरक्षा कडा पारिएको छ। बुढीगंगामा सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ।
मतदान मर्यादित रुपमा भइरहेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए। बुढीगंगामा पुनः मतदानका लागि ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
१० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ । मेयरमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती उम्मेदवार छन्।
बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियो। मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो।