बाजुरा। बुढीगंगा नगरपालिकामा मतदान जारी छ। नगरपालिकामा १० वटा बुथका १९ वटा मतदान केन्द्रबाट मतदान भइरहेको छ।
तर, बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाई फायर गरेको छ।
फर्जी मत खसाएको विषयलाई लिएर त्यहाँ विवाद भएको हो। सो क्रममा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
करिब १५ मिनेट मतदान स्थगित भएको र पुनः मतदान सुरु भइसकेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।
मतदानका लागि नगरको सुरक्षा कडा पारिएको छ। बुढीगंगामा सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ।
१० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ। मेयरमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती उम्मेदवार छन्।
बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियो।