काठमाडौं। ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको नेताको पदबाट आज राजीनामा दिने भएका छन्।
ब्रिटेनको प्रधानमन्त्री कार्यालय टेन डाउनिङ्ग स्ट्रिटका अनुसार प्रधानमन्त्रीले देशवासीका नाममा आज केहीबेरमा सम्बाोधन गर्नेछन्।
आगामी गर्मी याममा कन्जरभेटिभ पार्टीमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।
तर उनी शरद ऋतुसम्म प्रधानमन्त्रीका रूपमा निरन्तर रहने पनि बताइएको छ। टोरी दलको सम्मेलनमार्फत आगामी अक्टोबरमा नयाँ प्रधानमन्त्री चयन गरिनेछ।
चरणबद्ध रूपमा मन्त्रीहरूले राजीनामा दिएपछि यूकेका प्रधानमन्त्री बोरिस जोनसनले चर्को दबाबको सामना गरिरहेका छन्।
यसअघि हिजो बुधवार उनले ब्रिटिश संसद्को नियमित प्रश्नोत्तर सत्रमा आफूले सन् २०१९ को निर्वाचनबाट व्यापक जनादेश पाएको र त्यो जारी रहने बताएका थिए।
अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि जोनसन सङ्कटमा परेको थिए।
यसै वर्षको सुरुमा क्रिस पिन्चरलाई सहायक प्रमुख सचेतक नियुक्त गर्ने जोनसनको निर्णयका विषयमा विवाद भएपछि उनीहरूले मङ्गलवार केही मिनेटको फरकमा राजीनामा दिएका थिए। उनीहरूको राजीनामासँगै राजीनामाको लहर सुरु भयो र बुधवार अन्य कतिपय मन्त्रीहरूले पनि राजीनामा दिए।
यसअघि जोनसनप्रति असन्तुष्टि जनाउँदै ५० भन्दा बढी कन्जरभेटिभ सांसदहरूले सरकारमा उनीहरूले निर्वाह गर्दै आएका भूमिकाबाट राजीनामा दिएका थिए।
यसअघि मंङ्गलवारमात्रै अर्थमन्त्री नियुक्त भएका नदिम जाहावीले एउटा पत्र प्रकाशित गर्दै प्रधानमन्त्री जोनसनले सरकारलाई अवमूल्यन गरिरहेको र उनी पदबाट हट्नुपर्ने बताएका थिए
एक जना वरिष्ठ कन्जरभेटिभ सांसद जुलियन स्मिथले जोनसनले ट्रम्प प्रवृत्ति देखाउँदै पदमा टाँसिरहेको र शासन चलाउने विधिलाई चुनौती दिइरहेको आरोप लगाएका छन्। बीबीसी