काठमाडौं। नेकपा माओवादी (केन्द्र)ले पोलिटब्युरो सदस्यको संख्या बढाएको छ।
यसअघि काठमाडौंमा जारी पार्टीको केन्द्रीय समिति बैठकले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको थियो। तर, त्यसमा विवाद भएपछि १५६ सदस्यीय पोलिटब्युरो गठन गरिएको छ।
बैठकमा अध्यक्ष प्रचण्डले ३१ जना वैकल्पिक बनाएर १५६ जनाको पोलिटब्युरो बनाउन सकिने बताए। सिनियर र सक्रिय नेतालाई फुलमा ल्याएर जुनियरलाई वैकल्पिकमा ल्याउने प्रचण्डले आश्वासन दिएका छन्।
४१ सदस्यीय स्थायी कमिटी
त्यस्तै, माओवादीले ४१ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले स्थायी कमिटी गठनको घोषणा गर्दै तत्कालीन नेकपामा रहेका १५ जना स्वतः सदस्य बनेको जानकारी दिए।
थप २६ जना सदस्य स्थायी कमिटीमा सातवटा प्रदेशका इन्चार्ज र कार्यालयका मुख्य सचिव रहनेछन्। बाँकी १८ स्थायी कमिटी सदस्यको केही दिनभित्र टुंगो लगाइनेछ।
भएन पदाधिकारी चयन
माओवादीको केन्द्रीय समिति बैठकले पनि पदाधिकारी भने चयन गर्न सकेन।
बैठकमा प्रचण्डले गृहकार्य नपुगेको भन्दै पदाधिकारी चयन गर्न नसकेको बताए। त्यसका लागि उनले केन्द्रीय सदस्यहरुसँग समय मागेका छन्।
उनले २–४ दिन दिनमा सबैलाई खुसी बनाउनु गरी पदाधिकारी टुंगो लगाने बताए।