बाजुरा। बुढीगंगा नगरपालिकामा स्थानीय चुनावअन्तर्गत बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ।
शुक्रबार बिहान सर्वदलीय बैठकपश्चात वडा नम्बर ५ मा रहेको भानोदय माविमा मतगणना सुरु गरिएको हो।
दुई स्थानमा मतगणना भइरहेको छ। मतगणना वडा नम्बर १ र १० बाट सुरू गरिएको छ।
बिहीबार भएको मतदानमा त्यहाँ ६६.७५ प्रतिशत अर्थात ९ हजार १२८ मत खसेको छ। बुढीगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन्। बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो।
बुढीगंगामा नेपाली कांग्रेस र नेकपा एमालेबाट मेयर तथा उपमेयरका उम्मेदवार छन्। कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर पदका लागि उम्मेदवार छन्। उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।
यहाँ गत वैशाख ३० मा स्थानीय चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विवाद भएपछि पुनः निर्वाचन गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो।