काठमाडौं। गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको मृत्यु भएको छ।
शुक्रबार बिहान गोली लागेर घाइते उनको दिउँसो मृत्यु भएको हो।
नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको थियो। भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको ढाडमा लागेको थियो।
गोली लागेपछि उनी भुइँमा ढलेका थिए। उनको शरीर रक्ताम्मे देखिएको थियो। उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो। गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ।
शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन्। स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए।