सुर्खेतर। सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैद फैसला गरेको छ।
जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्तीमगर र भूपेन्द्र बुढामगरलाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवानासहितको फैसला गरेको हो। त्यस्तै, सजाय पाउने दुवै जनाले पीडित राहत कोषमा जनही आठ हजार रुपैयाँ समेत जम्मा गर्नुपर्नेछ।
यसैगरी, जिल्ला न्यायाधीश आचार्यको इजलासले यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई तीन वर्ष छ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको छ भने पीडित राहत कोषमा चार हजार रुपियाँ जम्मा गर्नुपर्ने फैसला गरेको छ।
अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको छ।
गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढामगरलाई कारागार चलान गरिएको थियो। उनीहरूलाई २०७८ जेठ २३ गते बिहान प्रहरीले पक्राउ परेका थिए।
मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति राउटे युवतीमाथि यौनहिंसा भएको थियो।