काठमाडौं। सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ।
आज बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गरे। उक्त प्रस्ताव प्रतिनिधिसभाले बहुमतले पारित गरेको छ। एमालेको विरोधका बीच नागरिकता विधेयक फिर्ता लिइएको हो।
विधेयक फिर्तापछि गृहमन्त्री खाणले नयाँ नागरिकता विधेयक पारित गर्नका लागि मन्त्रिपरिद्को शुक्रबारको बैठकले स्वीकृत गर्ने जानकारी दिए। उनले दलहरुसँगको सहमतिमा विधेयक चाँडै पारित गरिने बताए।
असार २१ गते बसेको मन्त्रिपरिषद् बैठकले संसदमा विचाराधिन रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो।
विधेयकमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले झन्डै २ वर्ष दफावार छलफल गरी प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो।