काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना दिएका छन् ।
उनले शुभकामना सन्देशमार्फत् यस पर्वले सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकास गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका हुन् ।
बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै प्रधामन्त्री देउवाले यस पर्वले एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री देउवाले यस्ता चाडपर्वहरूले सबै समुदायबीच आपसी सद्भाव, भाइचारा र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास लिए ।