काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं पुगेका छन्।
उनी आइतबार बिहान आठ सदस्यीय टोलीको नेतृत्व गर्दै चार्टर्ड जहाजमा काठमाडौं पुगेका हुन्। उनी नेपालमा चार दिन बस्ने कार्यक्रम छ।

सो क्रममा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूसँग भेटघाट गर्ने छन्।
आजै दिउँसो प्रधानमन्त्री देउवालाई भेट्ने उनले सोमबार माओवादी अध्यक्ष प्रचण्डसँग र मंगलबार बिहान एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।
गत चैतमा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि छिमेकी चीनका तर्फबाट भएको यो उच्चस्तरको अर्को भ्रमण हो। नेपाल र चीनबीच लामो समयदेखि रहेको मैत्री सम्बन्ध विस्तारका लागि लिउको भ्रमणलाई महत्वका साथ हेरिएको छ।
विदेश विभागमा नियुक्त भएपछि उनले सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र, प्रमुख विपक्षी दल नेकपा (एमाले) का शीर्ष नेतृत्वसँग श्रव्यदृश्यका माध्यमबाट संवाद गरेका थिए।