धनगढी । सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको टोलीले आइतबार कैलालीस्थित गेटा मेडिकल कलेजको निरीक्षण गरेको छ ।भौतिक संरचना निर्माण भइसकेको गेटा मेडिकल कलेजको भौतिक अवस्थाबारे जानकारी लिन र कुन प्रारुपमा सञ्चालन गर्दा उपयुक्त हुने कुरा बुझ्नका लागि संसदीय टोलीले अनुगमन गरेको हो ।
अनुगमनपछि सञ्चारकर्मीसंग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका सांसद योगेश भट्टराईले मेडिकल कलेजको भौतिक प्रगति सन्तोषजनक रहेको बताए । उनले गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा अगाडि बढाउन सकिए राष्ट्रलाई नै फाइदा हुने उल्लेख गरे ।
त्यस्तै, पूर्वीमन्त्रीसमेत रहेका अर्का सांसद् नारदमुुनि रानाले पनि गेटा मेडिकल कलेजलाई विश्वविद्यालयकै रुपमा अगाडि बढाउनु पर्ने बताए । उनले भने–‘कलेजको भौतिक प्रगति आशलाग्दो छ ।’सो अवसरमा गेटा मेडिकल कलेजका भौतिक पूर्वाधार निर्देशक हेमराज पुजाराले मेडिकल कलेज सञ्चालनका लागि दुई वर्ष अगाडि नै पूर्वाधार तयार पारेको बताए । अहिले दोस्रो चरण अन्तर्गत थप पूर्वाधार निर्माण भइरहेको उनको भनाइ थियो ।
संसदीय टोलीमा सांसद्हरु नारदमुनि राना र योगेश भट्टराई, चित्रलेखा यादव, अञ्जना विशङ्खे, मानबहादुर विश्वकर्मा, डा. दीपक भट्ट, भैरवबहादुर सिंह र नविना लामा रहेका थिए ।