काठमाडौं । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को खुबै चर्चा भयो । स्वतन्त्र रूपमा निर्वाचनमा उठेर अत्यधिक मतसहित विजयी उनीहरूका चर्चा चुलिनु स्वाभाविक थियो । सामान्य साइकलमा हिँड्ने राईको जीवनयात्राले धेरै नेपालीको मन जित्यो ।
अहिले पनि राई नगरका सामान्य काममा आफैं खटिएका दृश्य सामाजिक सञ्जालमा देखिँदा उनीप्रति सकारात्मक भाव बढ्दो छ । दुवै मेयरले समग्र नगरको विकासमा कसरी योगदान गर्छन् रु त्यो मूल्यांकन हुने समय आइसकेको छैन । यता चित्रकार रामकृष्ण थापा (आरके थापा) र प्रकाश थापा (प्रथा)ले उनका मुहार उतारेर कोरेको क्यारिकेचरले नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान (नाफा)को कला प्रदर्शनस्थलमा पनि उत्तिकै स्थान पायो, जति चुनावका बेला पाएको थियो ।
प्रथाले लामालामा कपालमाथिले नेपाली ढाका टोली पहिरिएका र पुक्क फुकेको गालासहितको राईको क्यारिकेचर बनाएका छन् भने आरके थापाले आँखामा कालो चस्मा र झुम्म दारीलाई केन्द्रमा राखेर साहको क्यारिकेचर बनाएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शित ‘नेपाली क्यारिकेचर २०७९’ शीर्षकमा प्रस्तुत गरिएको उनी (काठमाडौं महानगरका प्रमुख साह र धरान उपमहानगरपालिकाका प्रमुख राई)का क्यारिकेचरचित्र आकर्षक बन्न पुगेको छ । आगन्तुक दर्शकले क्यारिकेचर नियाल्दै निर्वाचनको चर्चालाई पुनःस्मरण गरे ।
क्यारिकेचरले समाजसँग प्रत्यक्ष संवाद गर्छ । त्यसैले समाज रूपान्तरणको संवाहक पनि हो क्यारिकेचर । कार्टुनभित्र हुने क्यारिकेचर सन्देश प्रवाहको सशक्त माध्यम हो । कार्टुन विधालाई गहकिलो बनाउन क्यारिकेचर महत्वपूर्ण भूमिका खेल्ने अग्रज कलाकारको प्रतिक्रिया छ ।
प्रदर्शनमा राखिएका क्यारिकेचरले पनि समसामयिकतालाई उजागर गर्ने प्रयास गरेको पाइन्छ । क्यारिकेचर र विषयको तालमेल भएन भने अर्थ दिँदैन । सही कार्टुनका लागि विषय र क्यारिकेचरको तालमेल हुनैपर्नेमा कलाकार एकमत छन् ।
हास्य वा विचित्र प्रभाव सिर्जना गरी व्यक्तिको मुहारलाई विशिष्ट नक्कल गरी बढाइचढाइ गरिनु नै क्यारिकेचर हो । बोलेर वा चित्र कोरेर पनि क्यारिकेचर गरिन्छ । बोल्दा आवाज र हाउभाउलाई ध्यान दिइन्छ तर लेख्य विधामा भने उसको पहिचान र व्यक्तित्व उतार्न सकियो भने मात्रै त्यो सफल क्यारिकेचर हुन्छ । मुहारलाई हुबहु उतारेर अतिरञ्जना गर्नु नै क्यारिकेचर हो ।
कलाभित्रको तिखो व्यंग्य कार्टुन हो भने त्योभन्दा फरक व्यक्तिलाई छुट्टै विधाबाट चिनाउन मुहारमाथि अतिरञ्जना गर्ने विधा भने क्यारिकेचर हो भन्छन् कला समीक्षक रमेशनाथ खनाल । उनका अनुसार नेपालमा प्रताप मल्लको पालादेखि नै गाईजात्राका अवसरमा दिवंगत आत्मा शान्तिका लागि भनेर प्रदर्शन गरेर हिँड्ने परम्परालाई क्यारिकेचरका रूपमा लिइन्छ । नेपालमा परिष्कृत क्यारिकेचरको विकास भने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिस्ट क्लब अफ नेपालको स्थापनापछि भएको हो । कला समीक्षक खनाल चित्रगत स्वस्थता, रंगगत सुन्दरता, भावगत सम्प्रेषण र पूर्णताको प्रभावले मात्रै राम्रो क्यारिकेचर बन्ने बताउँछन् ।
क्यारिकेचर’दयगत बताउँदै नेपाल कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिज भन्छन्, ‘अनुहारको व्यंग्यात्मक हाउभाउ, रङ र रेखाद्वारा व्यक्तिको भावसहितको अतिरञ्जना गरिएको चित्र नै क्यारिकेचर हो ।’
यसपटक नाफा र कार्टुनिस्ट क्लबले क्यारिकेचर विधामा महिला कलाकारलाई समेट्ने प्रयासस्वरूप गएको पुसमा प्रशिक्षण दिएको थियो । त्यहाँबाट उत्पादन भएका र पुराना गरी ४१ चित्रकारका क्यारिकेचर तीनदिने प्रदर्शनमा राखिएको छ ।
२०७४ सालदेखि नै नियमित रूपमा क्यारिकेचर कला प्रदर्शनी हुँदै आएको छ । कोरोना महामारीका समयमा भने भर्चुअल रूपमा प्रदर्शन गरिएको थियो । अध्यक्ष क्षितिज नेपालमा पछिल्लो समयमा क्यारिकेचरको महत्व बढेर गएको स्मरण गर्छन् । यसपटकको प्रदर्शनीमा समाजमा विशिष्ट योगदान पु¥याएका व्यक्ति छनोट गरी क्यारिकेचर बनाइएको छ । जसमा कलाकार हरिवंश आचार्य, केदार घिमिरे (माग्नेबुढा)का चारवटासम्म क्यारिकेचर समावेश छ ।
अन्य कलाकार नीर शाह, भुवन केसी, सन्तोष पन्त, सुनिल थापा, सीताराम कट्टेल (धुर्मस)देखि शताब्दी पुरुष सत्यमोहन जोशी, अग्रज कलाकार किरण मानन्धर तथा अन्य कलाकार तथा पत्रकारका क्यारिकेचरचित्र प्रदर्शनीमा देख्न पाइन्छ । कुल ४१ कलाकारमध्ये १७ नयाँ कलाकारले आफ्नो कला प्रस्तुत गरेका छन् ।