काठमाडौं। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद सम्बन्धि विधेयक अविलम्ब फिर्ता हुनुपर्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले संवैधानिक परिषद सम्बन्धि विधेयक अविलम्ब फिर्ता हुनुपर्ने बताएका हुन्।
प्रधानमन्त्री देउवाले गत बुधबार संवैधानिक परिषद (काम, कर्तव्य. अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश गरेका थिए। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखी अहिलेको सरकारले विधेयक ल्याएपछि आलोचना हुँदै आएको छ। ओलीले उक्त विधेयक ल्याउँदा कांग्रेसले विरोध गरेको थियो।
शर्माले ओलिको पालामा जो गलत, देउवाको पालामा पनि त्यो गलत हुनेमा सतप्रतिशत प्रष्ट रहेको बताएका छन्।
उनले भनेका छन्,‘संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी? हुन्छ कसरी ? गर्छ कसले? सल्लाह दिन्छ कसले? यो दुःखद छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ।’
यसअघि कांग्रेसका अर्का महामन्त्री गगन थापाले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता हुने बताएका थिए। थापालाई समर्थन गर्दै शर्माले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता हुनुपर्ने भन्दै धारणा सार्वजनिक गरेका हुन्।