काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन्।
सोमबार दिउँसो खुमलटार पुगेर जियान्चाओले प्रचण्डसँग भेटवार्ता गरेका हुन्। भेटवार्तामा दुई देशका कम्युनिस्ट पार्टीबीच सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ।
भेटवार्तामा माओवादी नेताहरू कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाललगायत सहभागी थिए।
जियान्चाओ ४ दिने भ्रमणका क्रममा आइतबार बिहान काठमाडौं पुगेका थिए। उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायतसँग भेट गरेका थिए।
उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनी बुधबार स्वदेश फर्किनेछन्।
गत चैतमा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि छिमेकी चीनका तर्फबाट भएको यो उच्चस्तरको अर्को भ्रमण हो। नेपाल र चीनबीच लामो समयदेखि रहेको मैत्री सम्बन्ध विस्तारका लागि लिउको भ्रमणलाई महत्वका साथ हेरिएको छ।
विदेश विभागमा नियुक्त भएपछि उनले सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र, प्रमुख विपक्षी दल नेकपा (एमाले) का शीर्ष नेतृत्वसँग श्रव्यदृश्यका माध्यमबाट संवाद गरेका थिए।