बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते भएको स्थानीय तहको निर्वाचनमा सोही वडाका कार्यालय सहयोगी वडा अध्यक्षमा विजयी भएका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा रण बहादुर थापा एमालेबाट वडा अध्यक्षमा विजयी भएका हुन् ।
२०७८ चैत महिनासम्म सोही वडामा कार्यालय सहयोगी पदमा कार्यरत रहेका थापाले नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार लोक बहादुर थापालाई हराउँदै विजयी भएका छन् । विजयी रण बहादुर थापाले ४ सय १६ र पराजित लोक बहादुर थापाले ३ सय ५८ मत ल्याएका थिए ।
२०७५ साल देखी वडा नम्बर १ मा वडा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका थापाले वडा अध्यक्ष पदमा लड्नका लागि चैत महिनामा राजीनामा दिएका थिए । मासिक १४ हजार पाउने गरी नगरपालिकाबाट करार नियुक्ति पाएका थिए । कार्यालय सहयोगी पदमा काम गरिरहेका रणले नेकपा एमालेसँग आफू वडा अध्यक्ष लड्ने प्रस्ताव लिएका थिए । नेकपा एमालेले अध्यक्षको उम्मेदवार बनाउन सहमति गरेपछि चैत महिनामा राजीनामा दिएर चुनावमा होमिएको थापाले बताए ।
थापा कार्यालय सहयोगीमा नियुक्ति हुँदा नेपाली काँग्रेसका वडा अध्यक्षमा राजेश कुमार सिंह सहितको पुरै वडामा काँग्रेस प्यान विजयी थिए । वडा अध्यक्ष थापा साविकको बह्रमतोला गाविसमा सामाजिक कार्यकर्ता रहेका थिए । देशमा सङ्घीयता लागु भएपछि उनको जागिर गयो । २०७५ सालमा फेरी आफ्नै वडामा कार्यालय सहयोगीको नियुक्ति पाएर काम गरेका थिए ।निर्वाचित थापा कार्यालय सहयोगी भए पनि उनले वडामा हुने सबै काम गरेको बताए