काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक सुरू भएको छ।
भट्टराई पक्षको बैठक काठमाडौंको जडिबुटीस्थित एक पार्टी प्यालेसमा मंगलबार दिउँसो सुरू भएको हो।
जसपा फुटको संघारमा छ। अर्का अध्यक्ष उपेन्द्र यादवले विधानअनुसार काम नगरेको र एकलौटी ढंगले अघि बढेको बाबुराम पक्षको आरोप छ। यस बैठकलाई जसपाभित्र विभाजनको प्रक्रिया सुरू भएको मानिएको छ।
बैठकमा जसपा कार्यकारिणीका ५ जना नेताहरु बाबुराम भट्टराई, महिन्द्रराय यादव, गंगानारायण श्रेष्ठ, रमेश यादव र हिसिला यमी सहभागी छन्।
४९९ सदस्यीय केन्द्रीय समितिका २३० जना बाबुरामतिर खुलेको दाबी गरिएको छ। यो भनेको जसपाको विभाजनका लागि कानूनबमोजिमको ४० प्रतिशतभन्दा बढी हो। संसदीय दलमा पनि आफूहरुको ४० प्रतिशत पुग्ने दाबी बाबुराम पक्षको दाबी छ। जसपाका २० सांसद छन्।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक बुधबारदेखि वीरगन्जमा हुँदैछ।
२०७६ वैशाख २३ मा तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भई समाजवादी पार्टी बनेको थियो । समाजवादी पार्टी २०७७ वैशाख १० मा राष्ट्रिय जनता पार्टीसँग मिलेर जसपा बनेको थियो।