काठमाडौं। प्रतिनिधिसभामा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानविन गर्नुपर्ने माग उठेको छ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रेखा शर्माले गर्भनर अधिकारीमाथि छानविन गर्नुपर्ने माग गरेकी हुन्।
शर्माले कानून, ऐन, नियम विपरित अधिकारी एमालेको विभागमा बसेको आरोप लगाइन्।
अर्का सांसद मिनबहादुर विश्वकर्माले पनि मुलुक श्रीलंकाजस्तो हुँदैछ भनेर हल्ला फैलाउने गर्भनर अधिकारीलाई कारवाही गर्नुपर्ने माग गरे।
सांसद अञ्जना विशाङखे अधिकारी गर्भनर हुन् कि एमालेका नेता हुन् भनेर प्रश्न गरिन्।
सांसद अमृत थापाले पनि अधिकारीमाथि छानविन गर्न माग गरिन्।
विवादमा गर्भनर
एमालेको अर्थ योजना विभागको सदस्यमा एम. अधिकारी खोटाङ आएपछि गभर्नर अधिकारी विवादमा तानिएका छन्। एम. अधिकारी नै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेको धेरैले दाबी गरिरहेका छन्।
तर, एमालेले यसबारे केही प्रतिक्रिया दिएको छैन भने अधिकारीले भने एम अधिकारी आफू नरहेको दाबी गरेका छन्।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ अनुसार गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन राजनीतिक दलको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था छ।
ऐनको दफा २२ को उफदफा ५ मा दफा २१ बमोजिम अयोग्य भएमा पदमुक्त हुने व्यवस्था छ । सरकारले जाँचबुझ समिति गठन गरेर मात्रै पदमुक्त गर्न सक्ने व्यवस्था छ।
नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ ले प्रचलित कानून बमोजिम आफूले पाएको मतको अधिकार प्रयोग गर्न बाहेक अन्य कूनै पनि किसिमबाट कर्मचारीले चुनाव तथा राजनीतिमा भाग लिन नहुने व्यवस्था गरेको छ।