काठमाडौं। राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न अनेरास्ववियू क्रान्तिकारीले माग गरेको छ।
गर्भनर अधिकारी एमालेको अर्थ योजना विभागको सदस्य रहेको भन्दै अनेरास्ववियू क्रान्तिकारीले उनलाई बर्खास्त गर्न सरकारसँग माग गरेको हो।
सम्बन्धित समाचारः
एम अधिकारी प्रकरणः विवादमा गर्भनर, संसदमा उठ्यो छानविन गरेर कारवाही गर्नुपर्ने माग
नत्र आन्दोलन गर्ने चेतावनी बुधबार अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले जारी गरेको विज्ञप्तिमा दिइएको छ।
साथै, अनेरास्ववियू क्रान्तिकारी र वाईसीएल नेपालले अधिकारीको बर्खास्तीको माग गर्दै आजै दिउँसो ४ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्दैछन्।
विवादमा गर्भनर
एमालेको अर्थ योजना विभागको सदस्यमा एम. अधिकारी खोटाङ आएपछि गभर्नर अधिकारी विवादमा तानिएका छन्। एम. अधिकारी नै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेको धेरैले दाबी गरिरहेका छन्।
तर, एमालेले यसबारे केही प्रतिक्रिया दिएको छैन भने अधिकारीले भने एम अधिकारी आफू नरहेको दाबी गरेका छन्।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ अनुसार गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन राजनीतिक दलको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था छ।
ऐनको दफा २२ को उफदफा ५ मा दफा २१ बमोजिम अयोग्य भएमा पदमुक्त हुने व्यवस्था छ । सरकारले जाँचबुझ समिति गठन गरेर मात्रै पदमुक्त गर्न सक्ने व्यवस्था छ।
नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ ले प्रचलित कानून बमोजिम आफूले पाएको मतको अधिकार प्रयोग गर्न बाहेक अन्य कूनै पनि किसिमबाट कर्मचारीले चुनाव तथा राजनीतिमा भाग लिन नहुने व्यवस्था गरेको छ।