काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही असार ३१ गते शुक्रबार अपराह्न ३ बजेका लागि तोकिएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो जानकारी दिँदै प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई तत्काल उपसभामुखको निर्वाचन कार्यातालिका प्रकाशित गर्न निर्देशन दिएका थिए।
यही असार ३० गते बिहीबार बिहान ११ देखि १ बजेसम्म प्रतिनिधिसभाको कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाका सचिवसमक्ष सो प्रस्तावको सूचना दर्ता गर्नुपर्ने छ। सोही दिन अपराह्न १ः३० बजे सङ्घीय संसद् भवनको सूचना पार्टीमा निर्धारित समयभित्र दर्ता भएको उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसारको सूची प्रकाशन गरिनेछ।
असार ३१ गते शुक्रबार अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णायर्थ प्रस्तुत गर्ने कार्यक्रम छ।
सत्ता गठबन्धनले कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपभासमुखको उम्मेदवार बनाउने तयारी गरेको छ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि प्रतिनिधिसभामा झण्डै साढे २ वर्षदेखि उक्त पद खाली छ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए। संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्।
एउटै दलबाट बनाउन नपाइने भएपछि अब बन्ने उपसभामुख माओवादीबाहेकका दलबाट चुनिनेछन्।