काठमाडौं। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले उपसभामुख पदमा मनोनयन दर्ता गरेकी छन्।
बिहीबार बिहान संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन्।
भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरी छन्।
प्रमुख प्रतिपक्षी दल एमालेले उम्मेदवार नै नउठाउने भएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की चन्दा चौधरीले उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेकी छन्। एमालेले चौधरीलाई नै सघाउने भएको छ।
बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ। मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ।
शुक्रबार दिउँसो ३ बजेदेखि उपसभामुख चयनका लागि मतदान सुरु हुनेछ।
तत्कालीन उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि करिब तीन वर्षदेखि यो पद रिक्त रहेको छ।