काठमाडौं। श्रीलंकामा हिंसात्मक प्रदर्शन हुँदा १ जनाको मृत्यु भने कम्तीमा ८४ घाइते भएका छन्।
मृत्यु हुनेमा एक २६ वर्षीय युवक रहेका छन्। प्रधानमन्त्री कार्यालयबाहिर प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गर्दा उनी घाइते भएको र पछि उपचारको क्रममा मृत्यु भएको कोलम्बो नेसनल अस्पतालले जनाएको छ। अश्रुग्यासले सास फेर्न गाह्रो भएर उनको मृत्यु भएको बताइएको छ।
सोही क्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्दा एक प्रहरी अधिकृत र एक सेवाकर्मीसहित ८४ जना घाइते भएका छन्।
एक रक्षा प्रवक्ताले कर्फ्यू हटाएको तर आपतकालिन अवस्था अझै कायम रहेको जानकारी दिएका छन्।
सेनाले यसअघि नै श्रीलंकाको संसद वरिपरि थप सेना र सशस्त्र सवारी साधन तैनाथ गरिसकेको छ। त्यसैगरी प्रदर्शनकारीबाट राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालयलगायतका सरकारी संस्था फिर्ता लिन सुरक्षा व्यवस्था बढाइएको छ।
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे मंगलबार राति श्रीलंकाबाट सैन्य जेटको सहयोगमा माल्दिभ्स भागेका थिए। त्यहाँबाट पनि सिंगापुर जाने तयारीमा छन्।
कोलम्बोमा प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको कार्यालय र राष्ट्रपति भवन जस्ता संस्थाहरू कब्जा गरेपछि प्रदर्शनहरू तीव्र भएका छन्।
गोटाबाया राजापाक्षेले बुधबार १३ जुलाईमा राजीनामाको घोषणा गरेका थिए। श्रीलंकाको संसदका सभामुख महिन्दा यापा अभयावर्धनेले आफूले अहिलेसम्म गोटाबायाको राजीनामा नपाएको बताएका छन्।
गोटाबायाको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन्।