काठमाडौं। उपसभामुख पदमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल र एमालेबाट सांसद विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ।
बिहीबार संसद् सचिवालयमा पुगेर भुसाल र भट्टराईले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरी छन्।
भट्टराईको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहेका छन्।
यसअघि एमालेले उम्मेदवार नै नउठाएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की चन्दा चौधरीलाई सघाउने तयारी गरेको थियो। तर, अन्तिम समयमा एमालेले आफैं उम्मेदवार उठाउने निर्णय गरेको हो।
दिउँसो १ बजे मनोनयनको समय सकिएसँगै आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ।
शुक्रबार दिउँसो ३ बजेदेखि उपसभामुख चयनका लागि मतदान सुरु हुनेछ।
तत्कालीन उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि करिब तीन वर्षदेखि यो पद रिक्त रहेको छ।