काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको स्पष्टीकरण दिएका छन्।
ई–स्पोर्टसका लागि एक संस्थालाई एक करोड रुपैयाँ दिएको भनेर आलेचना भएपछि बालेनले उक्त बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको स्पष्टीकरण दिएका हुन्।
उनले ई–स्पोर्टसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको दाबी गरेका छन्। कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुने र फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल नहुने उनले स्पष्ट पारेका छन्।
आधुनिक विश्वमा ई–स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा रहेको उल्लेख गर्दै बालेनले नेपालमा पनि यसको व्यवसायीक पाटो बढ्दै गएकोले यहि बर्ष हुने एसियाली खेलमा ई–स्पोर्टस पनि समावेश हुने तथा योग्य रहेमा नेपाली ई–स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्ने बताएका छन्।
साथै उनले यो बिषयलाई लिएर अतिरञ्जित र अनैतिकरुपमा आफ्नो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गरेका छन्।