काठमाडौँ । बजारमा खाने तेलको मूल्यमा सस्तो भएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार हाल खाने तेलको मूल्य प्रतिलिटरमा २०-२५ रुपियाँसम्म घटेको छ तर उद्योगीले भनेजस्तो प्रतिलटरमा ४० रुपियाँ घटेको मूल्य अहिलेसम्म बजारमा आइपुगेको छैन ।
सङ्घका महासचिव आमूल तुलाधरले पछिल्लो एक महिनाको अवधिमा खाने तेलको मूल्य प्रतिलिटर २५ रुपियाँसम्म सस्तो भए पनि प्रतिलिटरमा ४० रुपियाँ घटेको तेल अहिलेसम्म बजारमा नआएको दाबी गरे ।
नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार पछिल्लो केही दिनयता खाने तेल प्रतिलटरमा मूल्य ३० रुपियाँदेखि ४० रुपियाँसम्म घटेको छ । पछिल्लो पटक भटमास तेल प्रतिलिटरमा ४० रुपियाँ र सनफ्लावर तेल प्रतिलिटर ३० रुपियाँ सस्तिएको सङ्घले जनाएको छ । सङ्घका अनुसार नयाँ घटेको मूल्य भर्खर मात्रै थोकसम्म आउन थालेको र छिट्टै बजारमा जाने र घटेको मूल्यमा उपभोक्ता उपभोग गर्न पाउनेछन् ।
थोक व्यापारीले नेपालबाट यसअघि भारतमा निर्यात हुँदै आएको खाने तेल जान छोडेपछि खपत बढाउन तेल उद्योगीले बाध्य भएर मूल्य घटाएको र अझ घट्ने दाबी गरेका छन् । यसअघि अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य बढेको भन्दै उद्योगीले मूल्य बढाएका थिए ।