काठमाडौं। युक्रेनको भिनित्सिया सहरको एउटा आवासीय क्षेत्रमा रुसी क्षेप्यास्त्रहरू प्रहार भएपछि तीन बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको छ।
अधिकारीहरूका अनुसार घटनामा १०० जनाभन्दा बढी घाइते भएका छन्।
झन्डै तीन लाख ७० हजार मानिस बसोबास गर्ने सहरमा एउटा नौतले भवनको कार पार्किङस्थलमा क्षेप्यास्त्र प्रहार भएको हो। उक्त आक्रमणका कारण सहरको मध्य भागमा अवस्थित अरू आवासीय भवनहरू पनि प्रभावित भएका थिए।
युक्रेनी आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू जीवित भेटिने सम्भावना कम रहेको बताएका छन्।
युद्ध भइरहेको पूर्वी युक्रेन स्थानबाट निकै टाढा रहेको उक्त युक्रेनी सहरमा घातक आक्रमण भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यसलाई खुलमखुला गरिएको आतङ्कवादी कार्यको सङ्ज्ञा दिएका छन्।