काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तागठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन्।
बैठकमा नेताहरुले गर्भनर अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय उठाएपछि देउवाले भने, ‘गभर्नरले नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ। राजीनामा दिनु बाहेक के विकल्प हुन्छ र?’
एमालेको अर्थ योजना विभागको सदस्यमा एम. अधिकारी खोटाङ आएपछि गभर्नर अधिकारी विवादमा तानिएका छन्। एम. अधिकारी नै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेको धेरैले दाबी गरिरहेका छन्।
तर, एमाले र स्वयम अधिकारीले भने एम अधिकारी गभर्नर नभएर अर्कै व्यक्त भएको दाबी गर्दै आएका छन्। तर, एमाले र गभर्नरले एम अधिकारी को हो भनेर खुलाउन सकेका छैनन्। त्यसकारण गभर्नर अधिकारी विवादमा तानिएका छन् भने उनको राजीनामा माग भइरहेको छ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ अनुसार गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन राजनीतिक दलको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था छ।
ऐनको दफा २२ को उफदफा ५ मा दफा २१ बमोजिम अयोग्य भएमा पदमुक्त हुने व्यवस्था छ। सरकारले जाँचबुझ समिति गठन गरेर मात्रै पदमुक्त गर्न सक्ने व्यवस्था छ।
नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ ले प्रचलित कानून बमोजिम आफूले पाएको मतको अधिकार प्रयोग गर्न बाहेक अन्य कूनै पनि किसिमबाट कर्मचारीले चुनाव तथा राजनीतिमा भाग लिन नहुने व्यवस्था गरेको छ।