काठमाडौँ । काठमाडौं महानगरपालिकाले भोलि साउन १ गते आइतबारदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहोर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ ।
कामपाले शुक्रवार एक सूचना जारी गर्दै कुहिने फोहोर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहोरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ । तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नु पर्नेछ । कामपाले एक महिनाअघि नै सूचना जारी गरी फोहोर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो ।
पटक–पटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहोर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिवानासमेत गर्ने जनाइएको छ । कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहोर लिने गाडी पनि फरक–फरक दिन आउने भएकाले नागरिकले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जनाएको छ ।
पछिल्लो समय कामपालगायत काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समय–समयमा अवरोध गर्दा पटक– पटक समस्या आएपछि फोहोर व्यवस्थापनमा सहजताका लागि कामपाले यस किसिमको अभ्यास प्रारम्भ गर्न लागेको हो ।