काठमाडौँ । आज देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन्।
आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन्। चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले आयकरको सीमा बढाएको छ। नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक पाँच लाख रुपियाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन।
त्यस्तै विवाहितको हकमा छ लाख रुपियाँसम्म आयकर लाग्दैन। यद्यपि आफ्नो आम्दानी एक प्रतिशत सामाजिक सुरक्षा कर भने बुझाउनुपर्नेछ।
यसैगरी अविवाहितको हकमा पाँचदेखि सात लाख रुपियाँसम्मको आम्दानी १० प्रतिशत र सातदेखि दस लाख रुपियाँसम्मको आम्दानीमा २० प्रतिशत, १० देखि २० लाख रुपियाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ। वार्षिक २० लाख रुपियाँभन्दा आम्दानी हुने अवस्थामा भने त्यसभन्दा माथिको आम्दानीमा ३६ प्रतिशत आयकर तिर्नुपर्छ।
विवाहितको हकमा छ लाखदेखि आठ लाख रुपियाँसम्मको आम्दानीमा १० प्रतिशत आयकर तिर्नुपर्ने नयाँ व्यवस्था छ। आठ लाखदेखि ११ लाख रुपियाँसम्मको आम्दानीमा २० प्रतिशत र ११ लाखदेखि २० लाख रुपियाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्नेछ। २० लाखभन्दा माथिको आम्दानीमा ३६ प्रतिशत आयकर तिर्नुपर्नेछ। सरकारले १५ प्रतिशतले वृद्धि गरेको कर्मचारीको तलब आजैदेखि लागू हुँदैछ।